November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

बुटवलमा हत्या गरिएका व्यक्तिको शव बागलुङमा

बुटबल– बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पार्‍यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो ।

शवको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्कविहीन भएका मानिसको अवस्थाको विषयमा बुझ्न थाल्यो । प्रहरीलाई मृतकले लगाएको कपडाभित्रका कागजातले अनुसन्धानमा निकै सहज बनायो ।

वेवारिसे शवका विषयमा सबैतिर जानकारी गराउँदा बुटवलबाट एक युवक चैत्र ४ गतेदेखि हराएको सूचना बागलुङ प्रहरीमा आएपछि अनुसन्धानको दायरा साँघुरिँदै आयो ।

Advertisement

बुटवलमा हराएको युवाका आफन्त बिहीबार बागलुङ आएपछि अन्ततः शवको पहिचान खुल्यो । ढोरपाटन–२ रिनाममा गाडिएको अवस्थामा फेला परेको शव नवलपरासी जिल्लाको देवचुली नगरपालिका–३ केवरानीका नारायण बस्यालको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

बुटवलमा व्यवसाय गर्दै आएका बसेल चैत ४ गते रातिदेखि सम्पर्कविहीन भएका थिए । “प्रारम्भिक अनुसन्धानबाट बुटवलमा हत्या गरी शव लुकाउन बागलुङ ल्याएको देखिन्छ”, सूचना अधिकारी हवारीले भने, “शवसँगै भएको व्यावसायिक कागजातका आधारमा अनुसन्धान गर्दा व्यवसायमा साझेदारी गर्दै आएका ढोरपाटन–२ रिनाम घर भई बुटवलमा बस्यालसँगै व्यवसाय गर्ने मित्रलाल खनाललाई इलाका प्रहरी कार्यालय बुटवले बिहीबार पक्राउ गरेको छ, आर्थिक लेनदेनका कारण हत्या गरेको स्वीकार गरे पनि एक्लैले हत्या गरी शव बागलुङ ल्याउन मुस्किल हुन्छ, थप अनुसन्धान भइरहेको छ ।”

हवारीका अनुसार बुटवल प्रहरी र बागलुङ प्रहरीले समन्वयमा अनुसन्धान गरिरहेका छन् । अन्य मानिससमेत शङ्काको घेरामा रहेको उनले बताए ।