बारा । श्रीमानसँग मिलेर प्रेमीको हत्या गर्ने दम्पतीलाई पक्राउ गरेको छ । भारतको बिहार, दिल्लीहुँदै केरला मलप्पुरम जिल्ला पुगेका रामु महतो र रोशनी महतोलाई केरला प्रहरीसँग समन्वय गरी वैशाख ०६ गते नेपाल र भारतको सिमाना नजिकबाट पक्राउ गरिएको हो ।
के भएको थियो घटना ?
बिश्रामपुर गाउँपालिका वडा न.५ इटयाही टोलस्थित दरवारकोलनी क्षेत्रमा भुलन चौरसियाको खेतमा रहेको परालको भुषमा २०७९ मंसिर २७ गते राती एक युवकको शव फेला परेको थियो । सो शव बाराको जितपुर सिमरा उपमहानगरपालिकाको वडा न.८ राजानगर टोलमा बस्ने गुड्डु साह कानुको छोरा वर्ष २२ को सुरज भन्ने महेश साहको थियो । उनको शव कर्तव्य गरी मारी मृतकको लाश लुकाई छिपाई राखेको अवस्थामा प्रहरी फेला परेको थियो ।
प्रहरीका अनुसार प्रतिवादी रोशनी र मृतक सुरज लिभिङ टुगेदरमा रोशनी कै कोठामा बस्दै आएका थिए । सुरज र रोशनी बिच विवाह गर्ने कुरा समेत चलेको थियो । तर रोशनीको पहिला नै विवाह भई छोरी समेत रहेको हुँदा सुरजको घर परिवारका मानिसहरुले विवाह गर्न मानेका थिएनन् ।
त्यसैबिच घटना भएको मिति २०७९ मंसिर २७ गते राती रोशनी र सुरजलाई रोशनीका श्रीमान रामु भन्ने कैलाश महतोले दुवैलाई घटनास्थल नजिकै साथमा भेटेका थिए । त्यसै क्रममा मृतक सुरज र रोशनीका श्रीमान रामुबिच विवाद भएको थियो ।
विवादकै क्रममा निज श्रीमान श्रीमतीले सुरजलाई डिस (केवल) को तारले घाँटीमा कसी कर्तव्य गरी मारी मृतकको लाश दबाउने छुपाउने उद्देश्यले परालको भुसमा लुकाई छिपाई भागेका थिए ।
निजहरुलाई कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतबाट मिति २०८० बैशाख ०६ गतेदेखि नै लागु हुने गरी ७ दिनको म्याद थप गरी निजहरुलाई न्यायिक हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको छ ।