काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थाई घर भई हाल काठमडौंको लाजिम्पाटस्थित माझी बिष्ट्रो रेष्टुरेण्टका सञ्चालक सञ्जय रेग्मी रहेका छन् ।
प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार २७ वर्षीय सञ्जय रेग्मीसमेतले अमृता गुरुङलाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया
पठाइदिने र अष्ट्रेलिया जानको लागि ३० लाख लाग्ने भन्दै पीडितबाट पटकपटक गरी ३० लाख लिएका थिए ।
उनले अष्ट्रेलिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र त्यहाँ मासिक ३ लाख भन्दा बढी कमाउन सकिने प्रलोभनमा पारेर पीडितबाट पैसा लिएको र पैसा लिइसकेपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगार विभागबाट प्रहरी कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन पत्रचार गरेपछि विशेष प्रहरी टोलीले दरबारमार्गबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको छ ।