November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

२ करोड बराबरको रक्तचन्दन तेलको अवैध कारोबार गरेको अभियोगमा ८ जना पक्राउ

काठमाडौं । रक्तचन्दन तेलको अवैध रूपमा कारोबार गर्ने ८ जना पक्राउ परेका छन् । करिब २ करोड रुपैयाँ बराबरको रक्तचन्दन तेलको अवैध रूपमा कारोबार गरेको अभियोगमा शुक्रबार ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ चावहिल बस्ने ३० वर्षीय सुशिल पाठक, कालिकोट रासकोट नगरपालिका–८ घर भई काठमाडौं चाबहिल बस्ने २८ वर्षीय बिनोद बराल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१५ घर भई काठमाडौं कलंकी बस्ने ३६ वर्षीय ज्ञान बहादुर ओली, रामेछाप लिखुतामाकोसी गाउँपालिका–२ घर भई काठमाडौं काडाघारी बस्नेहरू ३५ वर्षीय नविन दाहाल, ३९ वर्षीय गोकर्ण हरि दाहाल, बाँके कोहलपुर नगरपालिका–११ घर भई काठमाडौं चाबहिल सरस्वतीनगर बस्ने ५८ वर्षीय निल कान्त भुसाल, धादिङ निलकण्ठ नगरपालिका–९ घर भई काठमाडौं जडिबुटी बस्ने ६३ वर्षीय मोहन बहादुर बिश्वकर्मा र सोलुखुम्बु माप्यदुधकोसी गाउँपालिका–६ घर भई काठमाडौं महांकाल बस्ने ४० वर्षीय खेमराज घिमिरे रहेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर २ लाख ५० हजार रूपैयाँको दरले अबैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई रक्त चन्दनको तेलसहित पक्राउ गरेको हो ।

Advertisement

उनीहरूलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको छ ।