November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

कपिलवस्तुमा श्रीमान-श्रीमती मृत अवस्थामा फेला

काठमाडौ । कपिलवस्तुमा श्रीमान-श्रीमती मृत अवस्थामा फेला परेका छन् । बुधबार वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला हुन् ।मृतक श्रीमान् भर्‍याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी थिईन् ।

श्रीमतीको शरीरका विभिन्न भागमा चोट देखिएको प्रहरीले जनाएको छ । बिहान घरमा दूध लिएर गएका व्यक्ति श्रीमानलाई झुन्डिएको अवस्थामा देखेपछि गाउँले र आफन्त जम्मा भई प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

जिल्लाबाट डीएसपी हरिबहादुर वली नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा श्रीमान्–श्रीमतीबीच झगडा भई श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । विस्तृत अनुसन्धानपछि मात्र केही भन्न सकिने प्रहरीलेको भनाइ छ ।

घटना हुँदा घरमा कोही थिएनन् । उनीहरूका ३ छोरामध्ये दुई भाइ विदेश र एक भाइ काठमाडौं बस्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।