November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

गोली प्रहार गरी सुनको सिक्री लुट्ने दुईजना पक्राउ

धनुषा । महोत्तरीको गौशालामा गोली प्रहार गरी सुनको सिक्री लुट्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । गौशाला–११ का ३८ वर्षीय विनयकुमार सिंहलाई गत जेठ २८ गते गोली प्रहार गरेर सिक्री लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सिंहलाई गोली प्रहार गरेको आरोपमा पक्राउ पर्नेहरुमा धनुषा सबैला–९ का ४७ वर्षीय शशीशंकर कापर र महोत्तरी भंगहा–२ का ३० वर्षीय आशिषकुमार कंठ रहेका छन् ।

पक्राउ परेका कापर १० वर्ष र कंठ ३० महिना सजय भोगेका अपराधी रहेको र उनीहरू जेलमा बस्दा चिनजान भएको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका दुवै जनालाई हातहतियार तथा खरखजना, चोरी डाका, ज्यान मार्ने उद्योग र संगठित अपराध गरी चार मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार बिहान पत्रकार सम्मेलन गरी फरक फरक घटनामा संलग्न अपराधी र अपराधमा प्रयोग भएको हतियार, मोटरसाइकल बरामद गरी सार्वजनिक गरेको छ ।

प्रहरीले विभिन्न लुटपाट र चोरीमा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको जानकारी गराएको छ ।