July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूह पक्राउ

काठमाडौं । हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूह पक्राउ परेका छन् । पक्राउ परेका तीन लुटेरालाई आइतबार साँझ पत्रकार गरी जिल्ला प्रहरी कार्यालय मुगुले सार्वजनिक गरेको छ ।

उनीहरूलाई अत्याधुनिक हतियारसहित प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीले ६ जना पक्राउ गरेको थियो । तर, पक्राउ परेका ६ जनामध्ये तीन जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका–३ का आक्रोश पर्से भनिने गणेश भण्डारी, सोही ठेगानाका पूर्णप्रसाद भण्डारी र वडा न ४ का कमल थापा रहेका छन् ।

Advertisement

प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार घटनामा संलग्न अन्य पाँचजना अझै फरार छन् ।

लुटेरा समूहले गाउँका २४ वटा घर, एउटा गुम्बाबाट सुन ३५ तोला, चाँदी ९९४ दशमलव ५ तोला, बुद्धको मूर्ति, रिणिमोक्क्ष माइको मूर्ति, मुगाको माला ९५ तोला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेको जनाइएको छ ।

घटना भएको झण्डै एक महिनापछि लुटपाटमा संलग्न आठ जनाको टिममध्ये प्रहरीले तीन जनालाई पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ ।

प्रहरीले उनीहरूको साथमा कटुवा पेस्तोल एक थान, एसएलआर एक थान, दुई थान म्याग्जिन, २५ राउण्ड गोली, तीन थान ओकेटोके, एक थान बाइनाकुलर, पाँच सेट आर्मीको कमब्याक ड्रेस, एकवटा ट्रेकिङ झोला र एकवटा सल बरामद गरेको छ ।