विराटनगर । सुनसरीको दुहबी नगरपालिका–३ मा श्रीमानले पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते भएकी छन् । शुक्रबार दुहबी–३ मुक्तिनाथ मन्दिर टोलमा बसोबास गर्ने ३३ वर्षीय मुस्तफा शेखले घरायसी विवादका कारण २८ वर्षीय खुस्बु खातुनलाई शरीरमा पेट्रोल छर्केर गम्भीर घाइते बनाएको हो ।
प्रहरीकाअनुसार घरायसी विवाद चर्किँदै जाँदा शेखले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटना लगत्तै स्थानीयवासीले तत्काल इलाका प्रहरी कार्यालय दुहबीमा खबर गरेका थिए । गम्भीर घाइते भएकी खुस्बुको सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि नोबेल मेडिकल कलेज विराटनगर भर्ना गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि पारस अस्पताल विराटनगर भर्ना गरिएको प्रहरीले जनाएको छ ।
पीडित महिलाको शरीरमा आगोले जलेर दुवै हात, घाँटी, छाती तथा अनुहारमा गम्भीर चोट लागेको जानकारी दिए। यद्यपि उनी हाल बोल्न सक्ने अवस्थामा रहे पनि स्वास्थ्य अवस्था चिन्ताजनक रहेको चिकित्सकले बताएका छन् ।