November 10, 2026, Tuesday
२०८३ कार्तिक २४
1:37:26 pm

इन्टरपोलको सहयोगमा पक्राउ परेका पाठकलाई नेपाल ल्याउन प्रहरी फिलिपिन्स जाने

काठमाडौं। अख्तियार प्रमुख प्रेम कुमार राईसहितका हाइप्रोफाइललाई धम्की दिएपछि इन्टरपोलको सहयोगमा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याउन प्रहरीका अधिकृतहरू फिलिपिन्स जाने भएका छन् । पाठकलाई डिफ्युजन नोटिस जारी गरेर अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले पक्राउ गरेको थियो ।

राईसहित १० जनालाई धम्की दिएकापाठक भारत, इन्डोनेशिया हुँदै फिलिपिन्स पुगेको थाहा भएको छ । प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना इन्स्पेक्टर जाने निर्णय भएको छ ।

काभ्रे घर भएका उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै आएका थिए । उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकले सामाजिक सञ्जालमा लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएका थिए ।  

Advertisement

उनलाई इन्टरपोलको फिलिपिन्स शाखा र फिलिपिन्स अध्यागमनले आफ्नो कार्यविधिगत काम पुरा गरेपछि खबर गर्ने र त्यसपछि नेपालबाट आफ्नो टोली जाने नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीले प्रकाश पाठकसँग ‘कनेक्सन’मा देखिएका ३ जनालाई यसअघि पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धादिङ घर भएका शरणजंग शाही, सर्लाही घर भएका तोरण थापा मगर र बर्दिया घर भएका धीरेन्द्र सुनार छन् ।