विराटनगर । प्रहरीको घुमुवा भन्दै चन्दा असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको सहिदभूमि गाउँपालिका–७ का ३५ वर्षीय धन बहादुर राई रहेका छन् ।
सुनसरीको धरान उपमहानगरपालिकाका होटल तथा रेष्टुरेन्टहरूमा चन्दा उठाउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धरानको टोलीले शनिबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
धनबहादुरले आफू इलाका प्रहरी कार्यालय धरानको घुमुवा भएको भन्दै होटलमा रकम असुली गरेको पाइएको प्रहरीले जनाएको छ ।
होटल व्यवसायीहरूले उनको गतिविधिप्रति शंका लागेपछि इलाका प्रहरी कार्यालय धरानमा जानकारी गराएका थिए । प्रहरीले अनुसन्धान गर्दा उनी नक्कली प्रहरी रहेको खुलेको प्रहरीले बताएको छ ।
पक्राउ परेका धनबहादुरको साथबाट प्र–१–०२–०५९ प ३०७६ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएो छ ।
पक्राउ परेका धनबहादुरलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ ।