November 9, 2026, Monday
२०८३ कार्तिक २३
1:37:26 pm

गोली प्रहार गरी इन्जिनियरको हत्या

काठमाडौं । सर्लाही सदरमुकाम मलङ्गवामा गोली प्रहार गरी इन्जिनियरको हत्या भएको छ । आइतबार बेलुका ८ बजेतिर जिल्ला पूर्वाधार कार्यालय मलङ्गवामा कार्यरत इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवलाई मलङ्गवा नगरपालिका १० स्थित डेरामा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेको ।

प्रहरीका अनुसार मृतक इन्जिनियर यादवको घर सिराहाको सुखीपुर नगरपालिका ६ वैशाखा हो ।

इन्जिनियर यादव आइतबार दिउँसो मात्र भर्खरै निधन भएका बाबुको काजकिरिया सकेर मलङ्गवा फर्किएको पाइएको छ । मोटरसाइकल चढेर आएका दुई जना मानिसले इन्जिनियर यादवलाई कोठाबाहिर बोलाएर नजिकैबाट गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

Advertisement

यादवको छातीमा गोली प्रहार भएको छ । इन्जिनियर यादवमाथि गोली प्रहार हुनुको कारण खुल्न सकेको छैन् । इन्जिनियर यादव श्रीमती र दुई वर्षकी छोरीसँगै मलङ्गवामा कार्यालय नजिकै डेरा गरेर बस्दै आएका थिए ।

मलङ्गवाबाट नेपाल–भारत सीमा नजिकै पर्ने भएकाले गोली प्रहारमा संलग्न व्यक्ति भारततर्फ फरार भएको हुन सक्ने आशङ्का गरिएको छ । प्रहरीले अब आज घटनास्थल वरपरको सिसिटिभी फुटेज सङ्कलन गरेर थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।