काठमाडौं- केही समयअघि अनामनगरमा पिठ्युँमा सर्टले बाँधेर सानो बच्चालाई बोकर रिक्सा चलाउँदै गरेका युवकको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी भाइरल बने। उक्त फोटो सार्वजनिक भएपछि युट्युबरले उनलाई पछ्याए। उनीसँग लिइएका भिडियो कुराकानी भाइरल बने। केही समय युट्यबदेखि सामाजिक सञ्जालमा उनी सर्वाधिक खोजिए।
अहिले तिनै ‘भाइरल ब्वाई’ अर्जुन विक जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी हिरासतमा पुगेका छन्। उनलाई काठमाडौं तीनकुनेबाट माघ ८ गते पक्राउ गरी कैलाली लगिएको हो।
अर्जुनलाई उनकै श्रीमती पक्षले अपहरण तथा बलात्कार कसुरमा जाहेरी दिएका थिए। कैलालीको भजनी-४ कि १३ वर्षीया एक किशोरीलाई विकले अपहरण गरी २०७३ जेठ ३० गते काठमाडौं लगेको पाइएको प्रहरीले जनाएको छ।