काठमाडौं । रुपन्देहीमा महिलाको हत्या आरोपमा एक किशोर पक्राउ परेका छन् ।
जिल्लाको शुद्धोधन गाउँपालिका–१, सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या आरोपमा १५ वर्षीय एक किशोर पक्राउ परेका हुन् ।
प्रहरीकाअनुसार, गत चैत २ गते राति आफ्नै पसलमा सुतिरहेकी पटवामाथि कैची प्रहार गरी हत्या गरिएको थियो । घटनामा संलग्न रहेका आरोपमा पक्राउ परेका किशोर मृतककै छिमेकी हुन् ।
लागुऔषध किन्न पैसा अभाव भएपछि किशोरले चोरी गर्ने उद्देश्यले पसलमा प्रवेश गरेको र सो क्रममा विवाद हुँदा हत्या गरेको बयान दिएका बताइएको छ ।
प्रहरीका अनुसार, मध्यरातमा भएको उक्त घटनामा किशोरले मृतकको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध कैची प्रहार गरेका थिए । घटनापछि फरार रहेका किशोरलाई प्रहरीले गत शनिबार नियन्त्रणमा लिएको थियो ।
जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।