विराटनगर । स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित विराटनगर विमानस्थलबाट दुईजना यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । सुरक्षा जाँचका क्रममा दुई दिनको अवधिमा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विराटनगरबाट जहाजमार्फत काठमाडौं जान लागेका फरक–फरक एयरलाइन्सका यात्रुहरू झोलाभित्र अवैध नगद लुकाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरूमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन् ।
बुद्ध एयरको उडानबाट काठमाडौं प्रस्थान गर्न लागेका सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १८ का ३५ वर्षीय दिलीप तामाङलाई सुरक्षाकर्मीले शंका लागेर चेकजाँच गरेका थिए । खानतलासीका क्रममा उनको ब्यागबाट स्रोत खुलाउन नसकेको ११ लाख नेपाली रुपैयाँ बरामद भएपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको थियो ।
यो घटनाको भोलिपल्ट अर्थात् वैशाख १९ गते शनिबार दिउँसो ३ः३५ बजेतिर पुनः अर्का एक यात्रु अवैध नगदसहित समातिए । श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौं जान लागेका भारतीय नागरिक ३६ वर्षीय मोहिदिल अलि पक्राउ परेका हुन् ।
भारतको माल्दा जिल्ला सुजा गञ्जका बासिन्दा अलिको झोला चेकजाँच गर्दा प्रहरीले १५ लाख ९८ हजार रुपैयाँ फेला पारेको थियो ।
प्रहरीले दुवै जनाबाट जम्मा २६ लाख ९८ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका तामाङ र अलि दुवैलाई बरामद गरिएको रकमसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।