November 7, 2026, Saturday
२०८३ कार्तिक २२
1:37:26 pm

घरायसी विवादमा चक्कु प्रहार गरी युवकको हत्या, भिनाजु पक्राउ

ललितपुर । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट खरिबोटमा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ । घरायसी विवादका क्रममा शनिबार राति भेनाले सालोको हत्या गरेका हुन् ।

प्रहरीकाअनुसार महोत्तरी घर भई हाल थानकोट बस्ने ३८ वर्षीय समि अहमदले स्थायी घर महोत्तरीको गौशाला नगरपालिका–५ भएका जाकिर मन्सुरीको हत्या गरेका हुन् ।

गएराति करिब ९ः१५ बजे उनीहरूबिच घरायसी विषयमा विवाद भएको र विवाद बढ्दै गएपछि अहमदले तरकारी काट्ने चक्कुले २०–२५ वर्षका जाकिरमाथि प्रहार गरेको प्रहरीले जनाएको छ ।

Advertisement

चक्कु प्रहारबाट गम्भीर घाइते भएका जाकिरलाई तत्काल उपचारका लागि सतुङ्गलस्थित मेड पोइन्ट अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा राति ९ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको हो ।

घटनालगत्तै खटिएको प्रहरी टोलीले चक्कु प्रहार गर्ने समि अहमदलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा प्रयोग भएको चक्कु समेत बरामद गरेको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार मृतकको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल पठाइएको छ ।