August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

१७ औं अभिव्यक्ति शृङ्खलामा चिमखोले काइँला

लन्डन । बेलायत, नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १७ औं अभिव्याक्ति शृङ्खलाका लागि साहित्यकार दुत बहादुर पुन (चिमखोले काइँला) लाई मञ्च प्रदान गर्ने भएको छ । विगत लामो समयदेखि बेलायतमा साहित्य, पत्रकारिता साथै सामाजिक कार्यमा कृयाशील रहेका पुनलाई मञ्च प्रदान गर्ने निर्णय गरेको हो ।

यसवर्षको अभिव्याक्ति शृङ्खला आगामी २७ जुन २०२६ मा अल्डरशट स्थित इम्पेरियल हलमा आयोजना गर्न लागेको संस्थाले जनाएको छ । अभिव्याक्ति शृङ्खला कार्यक्रममा चिमखोलका उत्कृष्ट रचनाहरू वाचन गर्नुका साथै स्रष्टालाई सम्मान गरिनेछ ।

सन् १९६१ मा म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–७, चिम्भोला कान्छी गाउँमा पिता शेरबहादुर गर्बुजा पुन मगर र माता जनिमा गर्बुजा पुन मगरको कोखबाट दुत बहादुर पुनको जन्म भएको हो । स्थानीय श्री ज्ञान प्रवेश प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरु गरेका पुनले एस.एल.सी.उत्तीर्ण गरि केही समय शिक्षण सेवासमेत गरेका थिए । सन् १९८२ मा बृटिश आर्मीमा प्रवेश गरेका पुनले आर्मीमा म्युजिक प्लाटुनमा संगीतकर्मीको रूपमा कार्यरत रहँदा उनले ब्रिटिश आर्मीका लागि आवश्यक शिक्षा सम्बन्धी महत्वपूर्ण तालिमहरू उच्च श्रेणीमा उत्तीर्ण गरे । शैक्षिक दक्षताका कारण उनले ६ गोर्खा राइफल्सको एजुकेसन सेन्टरमा शिक्षकका रूपमा कार्य गर्दै सिनियर तथा जुनियर नन–कमिसन अफिसरहरू र जवानहरूलाई अध्यापन गराउने अवसर समेत प्राप्त गरेका थिए । उनको योग्यता र दक्षताले गर्दा बृटिस आर्मीमा ड्रममेजर (वारन्ट) को गरिमामय पदमा पुग्न सफल भए । सन् २००२ मा ब्रिटिश आर्मीबाट अवकाश पछि उच्च अध्यायन संगै साहित्य, पत्रकारिता र समाजसेवीको रूपमा परिचय बनाएका छन् ।

Advertisement

चिम्खोले काइँला उपनामले चिनिएका पुनद्धारा प्रकाशीत कृतिहरू ‘सुनदन्ते’ सन् २००७ कविता संग्रह, ‘लण्डनको कोशेली’ सन् २००९ आधुनिक गीति एलबम, ‘युकेको जिन्दगी’ सन २०११ कविता सङ्ग्रह, ‘यूके तीर जाउली’ सन २०१३ दोहोरी गीति एल्वम, ‘मेजर पेन्सन खाऊली’ २०१६ फिल्म निर्माण (निर्माता, पटकथा लेखन र गीतहरूको शब्द रचना आफँै), ‘वेस्ट अफ चिम्खोले काइँला’ डिभीडी २०१७, ‘अर्ली भाइ’ २०१७ कथासंग्रह, मगर संघ युके इतिहासदेखि बर्तमान सम्म २०१९, आधा यात्रा (हस्त–नेत्र स्मृति ग्रन्थ सम्पादन) २०७७, गोलाद्र्धलाई चक्कर मर्दा (नियात्रा संग्रह) २०७७, लोसोगोठदेखि बकिङ्ग घम प्यालेससम्म (व्यक्तित्व) २०७७ र बाह्रौं कृतिः लन्डन घुमौला (गीति सङ्ग्रह) । चिम्खोले काईलाका सैन्य परिवेशमा लेखिएको ‘सुनदन्ते’ भित्रका कविताहरू निकै घतलाग्दो रहेका छन् । यसैगरि ‘युकेतिर जाउली, मेजर पेन्सन खाऊली’जस्ता गीतहरूले मिलियन भ्युज प्राप्त गरका छन् । साहित्यकार चिम्खोले काइँलाले विभिन्न विधामा कलम चलाएको पाईन्छ ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले स्थापनाकालदेखि बेलायतमा प्रत्येक वर्ष अभिव्यक्ति शृङ्खलाको आयोजना गरेर एकजना स्रष्टालाई मञ्च प्रदान गरी स्रष्टाको सृजनाहरू प्रस्तुत गर्दै आइरहेको छ । सन् २००७ मा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरि अभिव्यक्ति शृङ्खलाको सुरू गरिएको थियो । सन् २००८ मा कवि तथा निबन्धकार दयाकृष्ण राई, सन् २००९ मा कवि तथा कथाकार टंक वनेम, सन् २०११ मा संगीतज्ञ किसोर गुरूङ, सन् २०१२ मा कवि तथा गजलकार अञ्जु अञ्जली, सन् २०१३ मा गायक नोर्देन तेन्जींङ भूटीया, सन् २०१४ मा कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा, सन् २०१५ मा कवि तथा कथाकार रक्ष राई र सन् २०१६ मा कवि तथा गीतकार निर्मला परिवेश राई, सन् २०१७ मा कवि डा. रूपक श्रेष्ठलाई मञ्च प्रदान गरिएको थियो । यस्तै, सन् २०१८ मा साहित्यकार गणेश राई, सन् २०१९ मा साहित्यकार जानु काम्बाङलाई अभिव्यक्ति शृङ्खलाको मञ्च प्रदान गरिएको थियो ।

सन् २०२० मा कोभिडको कारण कुनै पनि सार्वजनिक कार्यक्रमहरू हुन सकेन । सन् २०२१ मा भर्चुवल मार्पmत कवि कोमल मल्ललाई मञ्च प्रदान गरिएको थियो । यसैगरी सन् २०२३ मा गायक धन किरण गुरूङ, सन् २०२४ मा गायक तथा साहित्यकार नरेश नाति र सन् २०२५ मा कवि देवेन्द्र खेरेसलाई मञ्च प्रदान गरिएको थियो ।