August 26, 2026, Wednesday
२०८३ भाद्र ११
1:37:26 pm

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६८ करोड दिने अर्थ मन्त्रालयको निर्णय

काठमाडौं- अर्थ मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ६८ करोड रूपैयाँ दिने भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार निर्माणका लागि यो रकम दिन लागिएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग र स्वास्थ्य मन्त्रालयको सिफारिसमा यो रकम दिन लागिएको हो। प्रतिष्ठानले भौतिक संरचना निर्माणका लागि रकम अभाव भएको भन्दै त्यसको निर्माणका लागि बजेट माग गरेको थियो।

स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसअघि ९५ करोड रूपैयाँ लागतमा आफ्नै भवन निर्माण गरेको थियो। ३०० शय्याको यो भवनमा प्रयोगमा आइसकेको छ। प्रतिष्ठानले थप शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना रहे पनि पूर्वाधार अभाव रहेकाले बजेटको व्यवस्था गर्न माग गरेको हो।

अर्थ मन्त्रालयले प्रतिष्ठानको मागअनुसार पूर्वाधार निर्माणका लागि बजेट सुनिश्चित गरिदिएको हो। ‘अर्थ मन्त्रालयले स्रोतको सुनिश्चितता गर्दै काम अघि बढाउन बाटो खोलिदिएको हो,’ स्रोतले भन्यो।

Advertisement

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको २०७६ पुस १४ गते बसेको सातौँ बैठकले एमबिबिएस, एमडिजिपी, एमडी अर्थोपेडिक्स, एमडी इन एनेस्थेसिओलोजी, एमडी इन पेडिएट्रिक्स, एमडी इन गाइनेकोलोजी एन्ड अब्स्टेट्रिक्स, एमएससी इन इपिडिमियोलोजी, ब्याचलर इन न्युट्रिसन एन्ड डाइटेटिक्स र ब्याचल इन फार्मेसी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो। 

यी कार्यक्रम सञ्चालन गर्न पूर्वाधार विकास आवश्यक रहेको भन्दै प्रतिष्ठानले बजेट माग गरेको हो। डा गोविन्द केसी र सरकारबीच गत असोज २४ गते भएको सहमतिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवं जनशक्तिको प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको थियो।

‘यी सबै कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्माणका लागि बजेट आवश्यक भएको भन्दै बजेट माग भएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो।