August 31, 2026, Monday
२०८३ भाद्र १६
1:37:26 pm

नेप्से हालसम्मकै उच्च विन्दुमा, करिब १७ अर्बको कारोबार

काठमाडाैं- नेपालको पुँजीबजारमा आज पुन: रेकर्ड बनेको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५३.४४ अंकले बढेर हालसम्मकै उच्च २९६०.१४ विन्दुमा पुगेको हो। यसअघि जेठ २३ गते आइतबार २९०६.९१ विन्दुमा पुगेको थियो।

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.४७ अंकले बढेर ५२८.११ विन्दुमा कायम भएको छ।

नेप्सेमा आज कूल १६ अर्ब ९५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज कूल २१८ वटा कम्पनीका तीन करोड ५७ लाख ३७४ कित्ता सेयर एक लाख ४९ हजार ७०८ पटक खरिद-बिक्री भएका थिए।

Advertisement

आज हिमालयन जनरल इन्स्योरेन्स, गोर्खा फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, सांग्रिला विकास बैंक, मुक्तिनाथ विकास बैंक  र ग्रिन डेभलपमेन्ट बैंकको कारोबारमा सकारात्मक सर्किट लागेको छ। मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता २.८५ प्रतिशतका दरले गुमाएका छन्।

आज नेपाल पुनर्बिमा कम्पनीका सेयर सबैभन्दा धेरै एक अर्ब छ करोड ६४ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा नबिल बैंक फण्ड-२ का ११ लाख ७२ हजार ८०० कित्ता सेयर किनबेच भएका थिए। नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सेयर सबैभन्दा बढी चार हजार ३१७ पटक खरिद-बिक्री भएको नेप्सेले जनाएको छ।

आज इन्भेस्टमेन्ट, माइक्रोफाइनान्स र होटल तथा पर्यटनबाहेक सबै समूहका परिसूचक बढेका छन्।