August 31, 2026, Monday
२०८३ भाद्र १६
1:37:26 pm

सेयरबजारमा निरन्तर पहिरो, नेप्से ७१.०६ अंकले घट्दा सबै समूहको परिसूचक नकारात्मक

काठमाडाैं- नेपाल धितोपत्र बोर्डको विज्ञप्तिपछि लगातारको वृद्धिमा ‘ब्रेक’ लागेको सेयरबजारमा उच्च अंकको गिरावट हुने क्रमले आज पनि निरन्तरता पाएको छ।

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७१.०६ अंकले घटेको छ। आइतबार ६३.११ अंकले घटेको थियो। 

धितोपत्र बोर्डले असार १ गते सेयर मूल्यमा अस्वाभाविक चलखेल भएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेको थियो। त्यसयता नेप्से परिसूचकमा निरन्तर गिरावट हुँदै आएको छ।

Advertisement

सोमबार बजार बन्द हुँदा नेप्से ७१.०६ अंकले घटेर २८३४.४१ विन्दुमा कायम भएको छ। धितोपत्रको सूचनाअघि नेप्सेले तीन हजार अंक पार गरेर रेकर्ड बनाएको थियो।   

नेप्सेमा आज ११ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा आज कूल २२७ वटा कम्पनीका दुई करोड २५ लाख २२ हजार ४९१ कित्ता सेयर एक लाख २७ हजार ८३७ पटक खरिद-बिक्री भएका थिए।

सबै समूहको परिसूचक राताम्य बन्दा पनि आज नारायणी डेभलपमेण्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ९.९७ प्रतिशतका दरले कमाएका छन्। पोखरा फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ९.२६ प्रतिशतका दरले गुमाएका छन्।

आज नेपाल पुनर्बिमा कम्पनीका सेयर सबैभन्दा धेरै एक अर्ब ३० करोड ६१ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। 

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.३७ अंकले घटेर ५२०.१८ विन्दुमा कायम भएको छ।