August 31, 2026, Monday
२०८३ भाद्र १६
1:37:26 pm

दैनिक उपभोगका वस्तुमा बढ्याे मूल्य

काठमाडौँ– नेपाल आयल निगमले मूल्य समायोजन भनेर प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको भाउ बढाउँदै आएको छ । कोरोनाको दोस्रो लहरको निषेधाज्ञापछि पहिलो पटक गत जेठ २ गते पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ बढेको थियो ।

यसपछि नियमले जेठ २२ गते, असार ९ गते र असार २२ गते भाउ बढायो ।

जेठ २ गते यता प्रतिलिटर ८ रुपैयाँ बढेर हाल पेट्रोल १२९ रुपैयाँ, ११२ रुपैयाँ र मट्टीतेल ११२ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढेर एक हजार ४२५ रुपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ८ रुपैयाँ बढेर ८४ रुपैयाँ पुगेको छ । पेट्रोलियम इन्धनको मूल्य बढ्नुको अर्थ चौतर्फी मूल्यवृद्धि हुनु हो ।

Advertisement

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा वृद्धि हुँदै जाँदा भारतीय आयल निगमले पठाएको मूल्यसूचीका आधारमा समायोजन गर्ने गरेको निगमले बताउने गरेको छ ।

तरकारीमा तीन गुणासम्म वृद्धि

राजधानी उपत्यकामा तरकारीको भाउ आकासिएको छ । विशेष गरी आलु, काउली, हरियो खुर्सानी, गोलभेँडा, हरियो सागपातको मूल्य उच्च भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुँदा र वर्षातमा उत्पादन घट्दा तरकारी आपूर्ति कम भएको समितका सूचना अधिकारी विनय श्रेष्ठको भनाइ छ ।

‘बर्खाको समयमा हरेक वर्ष तरकारी ढुवानीमा समस्या हुन्छ, यो सिजनमा हामीकहाँ तरकारी उत्पादन कम हुन्छ,’ उनी भन्छन्, ‘आयात गरिएको तरकारी पनि वर्षाले राजमार्ग अवरोध हुँदा समयमै आइपुग्न मुस्किल हुन्छ ।’ उनका अनुसार ढुवानी नियमित भएर सबैतिरबाट तरकारी आउँदामात्रै मूल्य कम हुन्छ ।

समितिको वेबसाइटमा राखिएको मूल्यसूची अनुसार २४ दिनमा तरकारीको भाउ ४० प्रतिशतदेखि ३५० प्रतिशतसम्म बढेको छ । असार १ गते प्रतिकिलो ५० रुपैयाँ रहेको हरियो खुर्सानी ६० रुपैयाँ बढेर असार २४ गते ११० रुपैयाँ पुग्यो । यो वृद्धि १२० प्रतिशत हो । असार १ गतेको मूल्यमा भारतीय आलु ६० प्रतिशत बढेर प्रतिकिलो २८ रुपैयाँबाट ४५ रुपैयाँ पुग्यो ।

यसैगरी लौका १३३ प्रतिशत बढेर प्रतिकिलो ३० रुपैयाँबाट ४५ रुपैयाँ, काउली ७५ प्रतिशत बढेर प्रतिकिलो ४० प्रतिशत बढेर ४० रुपैयाँबाट ७० रुपैयाँ पुग्यो ।

घिरौँला ३५० प्रतिशत बढेर प्रतिकिलो ३० रुपैयाँबाट ९० रुपैयाँ पुग्यो । तितेकरेला १८० प्रतिशत बढेर प्रतिकिलो २५ रुपैयाँबाट ७० रुपैयाँ पुग्यो र घिउसिमी २६७ प्रतिशत बढेर प्रतिकिलो ३० रुपैयाँबाट ११० रुपैयाँ पुग्यो ।

खाद्य पदार्थमा पनि वृद्धि

निषेधाज्ञाको समयमा खाद्य वस्तुको पनि मूल्य वृद्धि भएको छ । वैशाख ७ गते र असार २४ गतेको मूल्य सूचीअनुसार चामल, चिनी, तेल लगायतको मूल्य बढेको देखिन्छ ।

नेपाल खुद्रा व्यापार संघको मूल्यसूचीअनुसार वैशाख ७ गते त्रिशुलीको पोखरेली चामल प्रतिकिलो ८५ रुपैयाँ रहेकोमा असार २४ गते ५ रुपैयाँ बढेर प्रतिकिलो ९० रुपैयाँ पुगेको छ ।

चिनी प्रतिकिलो ५ रुपैयाँ बढेर ९० र डाल्डा घ्यू प्रतिकिलो ३० रुपैयाँ २१० रुपैयाँ पुगेको छ । वैशाख ७ गते भुटेको तोरीको तेल प्रतिलिटर २० रुपैयाँ बढेर असार १७ गते ३५० रुपैयाँ र काँचो तोरीको तेल प्रतिलिटर २० रुपैयाँ बढेर २४० रुपैयाँ पुगेको छ ।

माग र आपूर्तिको खेल

इन्धन र खानेपानीबाहेक अन्यको मूल्य सम्बन्धित उत्पादक तथा पठौरीकर्ताले नै तोक्ने भएकाले यसबारे जानकारी नभएको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शिवराज सेढाइ बताउँछन् ।

उनका अनुसार अन्य खाद्य वस्तुको हकमा भने सम्बन्धित उत्पादक पठौरीकर्ताले वस्तुको लागत, गुणस्तर, कानुनले तोकेअनुसार पाउने मुनाफा सेवा प्रदान गर्दा लिने शुल्कको आधारमा मूल्य निर्धारण हुन्छ ।

निषेधाज्ञा खुल्दै गए पनि सडकमार्ग अवरुद्ध भएर आपूर्ति घट्नुले पनि बजारमा दैनिक उपभोगका वस्तुको मूल्य बढेको हुन सक्ने उनले बताए ।

‘सडक अवरुद्ध हुँदा किसानका बारीमा तरकारी कुहिने र शहरमा अभाव हुने अवस्था हुन्छ’, उनले भने, ‘त्यस्तो अवस्थामा माग, आपूर्ति र मूल्यको कुरा जोडिन आउँछ ।’ कानूनविपरीत मूल्य बढाएमा कारबाही हुने उनले बताए ।khabarhub