पर्वत : निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण तर्फको करिब ८४ प्रतिशत काम पूरा भएको छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरूले बुधवार पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्ने क्रममा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थलको ८४ प्रतिशत भौतिक काम सम्पन्न भएको जानकारी गराएका हुन्। निर्माणको अवस्था, विमानस्थल सञ्चालन गर्न लाग्ने समय, स्थानीय सरोकारवालाले उठाएका समस्या आदिका बारेमा बुझ्न मुख्यमन्त्री सहितको टोली विमानस्थल पुगेको थियो।
हाल चिनिया एक सय ८५ र नेपाली दुई सय ३० जना कामदार काममा खटिइरहेको र एक सय १० वटा हेभी मसिन प्रयोग भइरहेको उनले मुनकर्मीले बताए। २२ अर्बको परियोजनामा हालसम्म ६९ प्रतिशत आर्थिक प्रगति भएको पनि उनले सुनाए।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेश र मुलुककै गौरवको आयोजना समयमै निर्धारित समयमै सम्पन्न गरी छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए। प्रदेशको समृद्धिसँग जोडिएको विमानस्थललाई अधिकभन्दा अधिक प्रयोग गरी स्वदेशी र विदेशी पर्यटक पोखरा भित्राउनुपर्ने उनको भनाइ थियो।