August 27, 2026, Thursday
२०८३ भाद्र ११
1:37:26 pm

तीन महिनामा पाँच खर्ब वैदेशिक व्यापार

२०७८ कार्तिक १०

काठमाडौँ- चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासिकमा रु तीन खर्ब २३ अर्ब ३१ करोड ५९ लाख ५३ हजार रहेकामा चालू आवको सो अबधिमा रु पाँच खर्ब ४३ अर्ब ५७ करोड ६० लाख ५४ हजार पुगेको छ ।

भन्सार विभागद्वारा मंगलबार जारी चालू आवको पहिलो त्रैमासिकको तथ्याङ्क अनुसार गत आवको पहिलो त्रैमासिकका तुलनामा चालू आवको सोही अवधिमा आयात ६३ दशमलव ७३ प्रतिशतले बृद्धि भइ रु चार खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार पुगेको छ । गत आवको पहिलो तीन महिनामा रु दुई खर्ब ९२ अर्ब २६ करोड ९८ लाख ६० हजारको आयात भएको थियो । तथ्याङ्कानुसार चालू आवको तीन महिनाको वैदेशिक व्यापारमा आयात–निर्यातको अनुपात ८८.०३ ः ११.९७ छ ।

सार्वजनिक विवरणानुसार गत आव पहिलो त्रैमासिकका तुलनामा चालू आवको पहिलो तीन महिनाको निर्यात १०९ दशमलव ५४ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासिकमा रु ३१ अर्ब चार करोड ६० लाख ९३ हजारको निर्यात भएकामा चालू आवमा रु ६५ अर्ब पाँच करोड २८ लाख ३४ हजारको निर्यात भएको छ ।

Advertisement

चालू आवको पहिलो त्रैमासिकमा मुलुकको व्यापार घाटा ५८ दशमलव २८ प्रतिशतले बढेर रु चार खर्ब १३ अर्ब ४७ करोड तीन लाख ८६ हजार पुगेको छ । गत आवको पहिलो तीन महिनामा व्यापार घाटा रु दुई खर्ब ६१ अर्ब २२ करोड ३७ लाख ६७ हजार थियो । चालू आवको पहिलो तीन महिनाको कूल वैदेशिक व्यापारमध्ये निर्यातका तुलनामा आयात सात दशमलव ३६ गुणाले बढी देखिन्छ ।

डिजेल धेरै आयात

विभागको तथ्याङ्कानुसार तीन महिनामा रु २३ अर्ब ३२ करोड ४४ लाख ७१ हजार बराबरको डिजेल आयात भएको छ जुन आयातमध्येकै बढी हो । त्यस्तै आयातमा भटमासको कच्चा तेल दोस्रोमा छ । व्यवसायीले विभिन्न मुलुकबाट भटमासको कच्चा तेल आयात गरी प्रशोधन गरेर पुनः निर्यात गर्दै आएका छन् । चालू आवको पहिलो तीन महिनामा करिब १३ करोड लिटर भटमासको तेल रु २० अर्ब ६० करोड ६० लाख ५१ हजार मूल्य बराबरको निर्यात भएको विभागले जनाएको छ ।

त्यस्तै चालू आवको पहिलो तीन महिनामा मोबाइल टेलिफोन रु १७ अर्ब १७ करोड ७१ लाख ८० हजार, पाम आयल रु १३ अर्ब चार करोड ५३ लाख ८६ हजार र पेट्रोल रु १२ अर्ब ८६ करोड ५६ लाख ५७ हजारको आयात भएको छ ।