काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर बजेट ल्याएको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घको बजेट पछिको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री वाग्लेले जग बसाउने बजेट ल्याएको बताएका हुन् ।
उनले बजेटमा पर्याप्त तयारी गर्ने समय नहुँदा केही विषय अर्को वर्षको बजेटले सम्बोधन गर्ने बताए ।
अहिलेको सरकार ५ वर्षका लागि भएकाले एउटा मात्रै बजेटमा सबै विषय अपेक्षा नगर्न पनि उनले आग्रह गरे । उनले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्राहस्थ उत्पादन पुग्ने बताए ।
उनले भूकम्पपछि कुल ग्राहस्थ उत्पादनको तुलनामा ३७ प्रतिशतसम्म आएकोमा अहिले करिब प्रक्षेपित जीडीपीको २८ प्रतिशत मात्रै विनियोजन गरिएको बताए ।
अर्थमन्त्री वाग्लेले १५ सय ८० अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको बताउँदै ऋणमा धेरै भर नपरेको बताए । उनले जीडीपीको तुलनामा ऋण ४३ प्रतिशत बढी नहुने बताए ।
७ प्रतिशतको आर्थिक वृद्धि २१ खर्ब २४ अर्बले मात्र नभई प्रक्षेपित ७४ खर्बको जीडीपीले गर्ने बताए । उनले बजार चलायमान बनाएर ७ प्रतिशत आर्थिक वृद्धि गर्न सक्ने बताए ।
उनले आगामी वर्षको बजेटमा नयाँ कार्यक्रम नभएको पुराना कार्यक्रमको दायित्व बढी हुँदा चापमा परेको बताए । उनले यो वर्ष मुख्य राजमार्ग निर्माण सम्पन्न हुने भन्दै सिद्धार्थ राजमार्गको निर्माणको काम अघि बढ्ने समेत बताए ।