November 7, 2026, Saturday
२०८३ कार्तिक २१
1:37:26 pm

हङकङमा पुस्तक विमोचनसहित १५४औं साहित्यिक श्रृङ्खला सम्पन्न

बज्रकुमार थुलुङ राई
२०८२ चैत्र १६

हङकङ, २९ मार्च । हङकङ साहित्यिक साझा श्रृङ्खलाको १५४औं संस्करण याउ मा तेइस्थित एकीकृत नेपाली समाज (हिन्स)को कार्यक्रम कक्षमा सम्पन्न भएको छ।

श्रृङ्खलाकी संयोजक जुनू रानाको अध्यक्षता तथा सहसंयोजक रोशन यक्सोको सञ्चालनमा आयोजित उक्त कार्यक्रममा साहित्यकार तथा साहित्यिक अनुरागी धर्म राई, सुन्दर गुरु, रमण गुरुङ, इन्द्र राना, अरुणा शर्मा, डोम राना, जानुका काम्बाङ, शिला धमाल, बालिका बान्तावा, सुनिता गिरी, प्रेम कुमारी राना, बज्रकुमार राई, डा. चुरा थापा र डा. टिका राना उपस्थिति थिए।

सो अवसरमा नेपालका साहित्यकार भानु बोखिमको उपन्यास ‘गोधुली गीत’, जीवन निर्दोषको मुक्तक संग्रह ‘प्रेमको सुगन्ध’ र स्पेनिश कवि नोर्मा गोंजालेजको हिन्दीमा अनुवादित कविता संग्रह ‘तकिये के रहस्य’ विमोचन गरिएको थियो। उक्त कविता संग्रह नेपालका सुपरिचित साहित्यिक व्यक्तित्व चन्द्र गुरुङले अनुवाद गरेका हुन्।

Advertisement

श्रृङ्खलाको आरम्भमा गजलकार सुन्दर गुरुङले आफ्नै सशक्त गजल वाचन गरी साहित्यिक माहोल रोमाञ्चक बनाएका थिए भने साहित्यकार जानुका काम्बाङले पनि आफ्नो कविता वाचन गरेकी थिइन्। श्रृङ्खलाकी सल्लाहकार सुनिता गिरीले ‘प्रेमको सुगन्ध’ भित्रका चोटिला मुक्तकहरू वाचन गरेकी थिइन्।

अर्का सल्लाहकार रमन गुरुङले जापान भ्रमणको अनुभूतिबाट सिर्जना गरेका आफ्नै कविता सुनाएका थिए भने श्रृङ्खलाकी सदस्य बालिका बान्तावाले आफूद्वारा रचित प्रेमिल कविताको वाचन गरेकी थिइन्।

कार्यक्रमको समापनमा संयोजक जुनू रानाले ‘तकिये के रहस्य’ भित्रका केही कविता वाचन गरेकी थिइन्।