साकेला । खोटाङको साकेला गाउँपालिकामा जनश्रमदानमार्फत सडक सरसफाई तथा मर्मत कार्यलाई तीव्रता दिइएको छ । गाउँपालिकाले सञ्चालन गरिरहेको ‘श्रम साकेला अभियान’ अन्तर्गत पालिका क्षेत्रभित्र निरन्तर रूपमा विकास निर्माण तथा सरसफाईका कार्यक्रमहरू अघि बढाइँदै आएको हो ।
गाउँपालिकाको नीतिगत निर्णय अनुसार हालै मात्र साकेला गाउँपालिकाको प्रमुख सडक खण्ड साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक अन्तर्गत वडा नम्बर ३ खिदिमास्थित खरुवाखोलादेखि तावाभञ्ज्याङसम्मको सडक सरसफाई तथा मर्मत कार्य सम्पन्न गरिएको छ । लामो समयदेखि बिग्रँदै आएको सडक खण्डमा स्थानीय नागरिकहरूको सक्रिय सहभागिता, जनप्रतिनिधि तथा कर्मचारीहरूको संयुक्त पहलमा श्रमदानमार्फत सुधार गरिएको हो ।
जनश्रमदानका क्रममा सडकमा जमेको माटो, ढुंगा तथा झारपात हटाइनुका साथै सडक छेउछाउमा फैलिएका बोटविरुवाहरू काटेर यातायात आवागमन सहज बनाइएको छ । यस अभियानले सडकको स्वरूप मात्र होइन, स्थानीय नागरिकमा स्वामित्व भावना र सामूहिक जिम्मेवारीको चेतनालाई पनि बलियो बनाएको साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बताए ।
गाउँपालिकाले विकासलाई केवल बजेट र योजनामा सीमित नराखी नागरिकको श्रम, सीप र सहभागितासँग जोडेर अघि बढाउने नीति लिईएको अध्यक्ष राईले बताएका छन् । ‘श्रम साकेला अभियान’ मार्फत साना तर दीर्घकालीन प्रभाव पार्ने कामहरू गर्दै समृद्ध साकेला निर्माणको आधार तयार गरिने उनकोे भनाई छ ।
स्थानीय सय कुमार राईका अनुसार यस्तो अभियानले गाउँको विकासप्रति सबैलाई जिम्मेवार बनाउनुका साथै आपसी सहकार्य र एकताको भावना बढाएको बताए । “विकास बाहिरबाट होइन, हामी आफैँबाट सुरु हुनुपर्छ” भन्ने सोचका साथ अगाडि बढाइएको अभियानले भविष्यमा अन्य क्षेत्रको विकासमा समेत सकारात्मक उदाहरण प्रस्तुत गर्ने अपेक्षा राखिएको छ ।
गाउँपालिकाले आगामी दिनमा पनि सडक, खाने पानी, सरसफाई तथा सार्वजनिक संरचनाको संरक्षण र मर्मतका लागि श्रमदान अभियानलाई निरन्तरता दिने जनाएको छ ।