August 26, 2026, Wednesday
२०८३ भाद्र १०
1:37:26 pm

कुम्मायकमा विविध कार्यक्रम बिच त्रिशाली पूजा एवं मेला लाग्ने

कुम्मायक । पाँचथर जिल्लाको दक्षिणी भेगमा रहेकोे कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा आगामी बैशाख २३, २४ र २५ गते त्रिशाली पूजा एवं मेला (तङ्सुम तङ्नाम) लाग्ने भएको छ ।

पूजा तथा मेला मुख्य समारोह समितिका अनुसार २०८३ बैशाख २३ गते कुम्मायक र कुस्सायक देवस्थलमा पूजा गरिने र २४ गते मेला लाग्ने बताइएको छ ।

तङ्सुम तङ्नामको कार्यक्रम बैशाख २५ गते समापन हुने समितिले जनाएको छ ।

Advertisement

समारोह समिति तथा सर्वपक्षीय सामाजिक अभियन्ता बीच बुधबार बसेको बैठकले पूजा तथा मेला अगावै खानेपानी व्यवस्थापन तथा बजार सरसफाइमा बिशेश ध्यान दिइने जनाएको छ ।

बैठकले २०८३ बैशाख १० गतेदेखि मुख्य पूजा सम्पन्न नभएसम्म भक्तजनलाई देवस्थल भित्र सामूहिक पूजाहरू रोक लगाउने निर्णय गरेको छ । उक्त समयमा मन्दिर भित्र बाहिर रङरोगन, सरसफाइ र पूजा व्यवस्थापन सम्बन्धि कामहरू हुने र पुरानो चलन पनि यही भएको बताइएको छ ।

इशाको छैटौं र नवौं शताब्दीमा राजा उवाहाङ युमाका भक्त थिए उनले उत्तरमा तिब्बत र दक्षिणमा भारतको सिमानासम्म आफ्नो राज्य बिस्तार गर्ने काम तीन बर्ष लागेको थियो । उक्त खुसियालीमा आफ्ना भाइभारादार र रैतीहरूलाई भेला गराइ भोजनपान गराएको उत्सव नै पर्वको रूपमा बिकास हुँदै आएको बताइन्छ । उनै उवाहाङ्का छोरा मावोहाङ्ले पनि यस क्षेत्रमा आफ्ना भाइभारदारहरू सहित शिकार खेल्दै जाने क्रममा युमाले (मृग) आफ्नो साडीले छोपेर लुकाएको र उनका शिकारी दुई कुकुरहरूलाई समेत अलप गराइ तान बुनिरहेकि सुन्दरी युवती रुपधारण गरेको भेषमा उनै यु?माको दर्शन पाएको कथन छ । त्यसपछि उन्नाइसौं शताब्दीमा रैनमुखी सम्बाहाम्फेको आङमा पनि युमा (बुढी बोजु) ईश्वरीय शक्ति प्रकट भएको हुनाले उनको पालामा पनि कुम्मायक र कुस्सायक देवस्थलमा प्रत्येक तीन—तीन बर्षमा सामूहिक भेला भई पूजा तथा उत्सव र पर्वको रूपमा मानिने चलनलाई नै त्रिशाली अर्थात तङ्सुम तङ्नाम भएको बताइन्छ । कालान्तरमा यो तङ्सुम तङ्नामको पहिलो पूजारी पनि रैन्मुखी सम्बाहाम्फे भएको अभिलेख पाइन्छ । पूजा तथा मेलामा छिमेकी विभिन्न जिल्ला, स्थानीय, सिक्किम दार्जिलिङ भुटान बर्मा लगायतका विस्वमा रहेका सम्पूर्ण भक्तजनको उपस्थिति रहने यश अवसरमा मानव जगतको मनोकामना पूरा हुने जनविश्वास छ ।

उक्त पूजा तथा मेलामा नौमती बाजा, धाननाच, केःलाङ, भलिबल, फुटबल, ब्याडमिन्टन, बुद्धिचाल तथा विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना रहेको त्रिशाली पूजा एवं मेला (तङ्सुम तङनाम) मूल समारोह समितिका अध्यक्ष देवेन्द्र कुमार लावतीले बताएका छन् ।