काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन् । उनले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको भन्दै भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन् ।
एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन एवं विजयादशमी, शुभदीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा आज आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले केपी शर्मा ओली सरकारको पालामा भएका यती, कोरोना महामारीको बेलामा भएको औषधि खरिदलगायत धेरै मुद्दाको ढाकछोप गर्ने कोसिस भएको बताउँदै राज्यको सम्पत्तिको दुरुपयोग गर्नेलाई एक–एक छानबिन गर्ने काम गर्न आग्रह गरेका छन् ।
“संसारका देशमा प्रधानमन्त्रीदेखि जुनसुकै ओहोदाका व्यक्तिलाई पनि राज्यको सम्पत्तिको दुरुपयोग गर्छ र भ्रष्टाचार गर्छ भने त्यसमाथि छानबिन हुन्छ”, उनले भने, “तर यहाँ कुनै पनि छानबिन भएन, त्यसतर्फ ध्यान दिन प्रधानमन्त्री र वर्तमान सरकारलई म आग्रह गर्न चाहन्छु ।”
नेपालले आफ्नो पार्टी लोकतान्त्रिक विधि र तरिका अवलम्बन गर्न चाहेको बताउँदै पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन र यदि गलत काम गरेको खण्डमा त्यहाँ राखिने छैन भनेर प्रस्ट भनिसकेको पनि बताए ।
“यदि भनेजस्तो काम गरेन भने कारबाही गर्दै मन्त्रीबाट हटाइनेछ, भ्रष्टाचार, अनुचित काम गर्ने र देशलाई आँच पु¥याउने खालका काम गर्नेलाई छुट दिन सकिदैन ।”, उनले भने,
यसअघिको ओली सरकारका पालामा देशको ढुङ्गा, गिट्टी, बालुवा सबै भारत निकासी गर्न छुट दिएर चुरेभावर क्षेत्र बिजोग हुने र पर्यावरणमा असर पार्ने अवस्था बन्दै गएको बेला आफूले त्यसको रोक लगाउन आवाज उठाएको स्मरण गर्दै उनले सरकारमा बस्नेलाई गलत काम गर्न छुट नभएको उल्लेख गरे ।
उनले आफ्नो पार्टीबाट मन्त्री भएकालाई आइतबार बोलाएको बताउँदै सो क्रममा थप निर्देशन दिने बताए ।