काठमाडौं । बिहिवार बसेको प्रतिनिधोसभाको बैठक सकिएको छ । नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बिहीबारको बैठक १२ मिनेट बसेर सकिएको हो ।
एमालेले गैर सांसदलाई संसदमा प्रवेश निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम गर जस्ता नारा लगाए ।
एमालेको अवरोधकाबीच सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा राष्ट्रपति स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए ।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए । साथै प्रतिनिधिसभाको बैठकमा बिरामी भएर उपचारका कारण प्रतिनिधिसभाको १३ वटा बैठकमा अनुपस्थित भएका झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरीको अनुपस्थितिको सूचना स्वीकृत गरेको छ ।
सभामुख सापकोटाले कार्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् ।