काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताएका छन् । शनिवार काँग्रेस काठमाडौंका सभापतिका उम्मेदवार कृष्ण बानियाँ समूहको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
‘१३औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिको नेतृत्वमा १६५ मा २३ सिटमा पार्टी झरेको थियो । केन्द्रको नेतृत्व यदि हामीले परिवर्तन गर्न सकेनौँ भने काँग्रेसलाई आउँदो दिन पनि गाह्रो हुन्छ ।’ नेता सिंहले उनले भने ।
उनले काँग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिने बताए । सिंहले काँग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताए । पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४औँ महाधिवेशनबाट सक्षम नेतृत्वको चयन हुनुपर्ने उनले बताए ।