चितवन । नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिएको नेता डा. भीम रावलले निर्वाचन परिणाम जस्तो आएपनि स्वीकार्ने बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका रावलले परिणाम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने बताएका हुन् ।
चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा मङ्गलबार बिहान मतदान सुरु भएको छ । मतदान सुरु भएसँगै मतदान गरेका रावलले प्रतिस्पर्धामा पराजित भए आफू केन्द्रीय समितिमा नरहने घोषणा गरेका छन् ।
अध्यक्ष ओलीले सोमबार मध्यराति सर्वसम्मतिका लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो । उनले विद्युतीय भोटिङ मेसिनमा आफ्नो नाम रहेको भन्दै त्यसमा आफ्नो उम्मेदवारी नरहेको प्रष्ट पारे ।
एमाले पदाधिकारीका उम्मेदवारलाई स्वतः केन्द्रीय कमिटीको उम्मेदवारका रुपमा राखिएको छ । रावलले आफूले अध्यक्ष पदका लागि मात्र फारम भरेको स्पष्ट पारे । रावलले देश, जनता र लोकतन्त्रको हितमा निरन्तर काम गरिरहने बताए ।
बिहान ४ बजेदेखि सुरु भएको मतदान जारी छ ।