काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना फर्काउने पक्षमा आफूहरू नरहेको कुरा स्पष्ट पारेका छन् । शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा दाहालले अमेरिकाले प्रस्ताव गरेको एमसीसी परियोजनामा रहेका बुँदाहरू बिना परिमार्जन अगाडि नजाने पनि बताए ।
दाहालले भने, ‘नेपालको राष्ट्रिय हित र जनताको भावनालाई केन्द्रविन्दुमा राखेर एमसिसी परियोजना अगाडि बढ्छ । एमसीसीमा प्रश्नहरू उठेका छन्, त्यसको जवाफ दिएर परिमार्जन र संशोधन गरेर अगाडि लगिन्छ ।’
एमसीसीको विषयमा पाँचदलीय गठबन्धनमा कुरा गरेको र संशोधनको निर्क्यौल गर्न बाँकी रहेको दाहालले बताए ।
त्यस्तै, एमाले अध्यक्ष केपी ओली र त्यसबेला उनको पार्टीले नेतृत्व गरेको अर्थमन्त्रालयले जे जति काम गर्यो त्यसले जनतामा गम्भीर आशंका बढाएको बताउदै ती गम्भीर आशंका क्लियर नगरी जानु अमेरिका, नेपाल र राजनीतिक दललाई फाइदा नगर्ने उनले बताए ।
एमसीसी कार्यदलले प्रारम्भिक कार्य सुरू गरेको भन्दै अनुदानमा आएको त्यो रकम पूर्वाधारमा लगानी गर्नुपर्ने प्रचण्डको भनाइ थियो ।
गठबन्धन तोडे एमसीसीमा समर्थन गर्ने भन्दै कांग्रेससँग एमालेले अराजनीतिक, अनैतिक चरित्र देखाएको आरोप लगाउदै दाहालले भने, ‘फेरि पनि प्रतिगमनतर्फ लैजान खोजिँदैछ । प्रतिक्रियावादीहरू संविधान खारेज गर्न चाहन्छन्, यो गठबन्धन टुटाउन जे पनि गर्ने भनिएको छ, नाटकहरू चलिरहेका छन् ।