काठमाडौं। राजपाबाट सांसद बनेका रेशम चौधरीले जेलबाटै नयाँ पार्टी खोल्ने भएका छन् । टिकापुर घटनामा कर्तव्य ज्यान मुद्दामा हाल डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका चौधरीले जेलबाटै नयाँ पार्टीको घोषणा गरेका हुन् ।
चौधरीले पार्टीको नाम ‘नागरिक उन्मुक्ति पार्टी’ राख्ने भएका छन्। यसअघि उनले पार्टीको नाम ‘नागरिक समाजवादी पार्टी’ राख्ने तयारी गरेका थिए। चौधरीका कार्यकर्ताले आयोगमा गई सो नामबारेमा बुझ्दा अरू कसैले दर्ता गरेको हुँदा पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी राख्ने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ ।
चौधरीले पुस १९ मा दल दर्ता गर्ने र आज शुक्रबार गते कारागारलाई दर्ताको जानकारी गराउने तयारी गरेका छन् ।
परिवार स्रोतका अनुसार नयाँ पार्टीको अध्यक्ष चौधरी आफै हुने भएका छन्। यदि निर्वाचन आयोगले चौधरीलाई दलको अध्यक्ष बनाउन नमानेको अवस्थामा भने उनकी पत्नी रञ्जिता हुनेछन्।