काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष निर्वाचन आयोगविरूद्ध सर्वोच्च अदालत जाने भएका छन् । अध्यक्ष रवीन्द्र मिश्र पक्षले ‘कीर्ते माइन्युट’ आयोगमा पेश गरेको दाबी गर्दै आयोगको निर्णय पुनरावलोकन गर्न पाण्डे पक्षले माग गरेकोमा आयोगले यसबारे ‘निर्णय गर्न नचाहेको’ भन्ने जवाफ दिएकोले त्यसविरूद्ध अदालत जाने तयारी गरेको हो ।
‘निर्वाचन आयोगको निर्णयमा पुनरावलोकन गर्न केन्द्रीय संयोजक मिलन पाण्डेले दिनुभएको निवेदनमा निर्णय गर्न नचाहेको भनेर दिएको प्रतिक्रिया कानुन विपरीत छ, अन्यायपूर्ण छ र अस्वीकार्य छ। हामी यो निर्णयको कानुनी परीक्षणका लागि छिट्टै सर्वोच्च अदालत जान्छौं,’ हरिप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीको विधान विपरीत नीति र नेतृत्व परिवर्तन गर्ने निर्णय अध्यक्ष मिश्र पक्षले एकल बैठकले गरेको र बैठकमा अनुपस्थितको पनि सहमति छ भनेर कीर्ते मानइन्युट बनाएको दाबी पाण्डे पक्षको छ ।
निर्वाचन आयोगको निर्णयलाई आफूहरूले अदालतमा चुनौती दिने पनि पाण्डे पक्षको भनाइ छ ।
