November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

अब हुने तीनै तहको चुनावमा पाँच दल मिल्छौं: माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब हुने तीनै तहको चुनावमा सत्तारूढ मिलेर जाने बताएका छन् । अध्यक्ष नेपालले ०७९ चैतभित्र हुने तीनै तहको चुनावमा सत्तारूढ पाँच दल मिलेर जाने बताएका हुन् ।

अध्यक्ष नेपालका अनुसार अहिले नै चुनाव हुने अवस्था छैन । ०७९ को चैतसम्म तीनै तहको निर्वाचन हुने उनले बताए । उक्त चुनावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट आशा गर्ने ठाउँ नरहेको दाबी गरेका थिए ।

रामेछापका युवाहरूलाई पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले भने, ‘चुनाव चैत वा वैशाखमा गर्ने चर्चा भइरहेको छ । ०७४ मा तीन चरणमा स्थानीय तहको चुनाव भएको थियो । चुनावपछि जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष हुन्छ । ०७४ असोजमा चुनावबाट आएकाहरूको कार्यकाल कहिलेसम्म मान्ने, बहस चलेको छ । संविधानमा गाउँ/नगरका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष भनेको छ । उक्त कार्यकाल सकिएको छ महिनाभित्र चुनाव गर्नुपर्ने लेखेको छ ।’

Advertisement

आफूहरु लोकतन्त्र जोगाउन, संविधानको रक्षा गर्न, गणतन्त्र बलियो बनाउन र विकासको नयाँ अभियान अगाडि बढाउन चाहेको अध्यक्ष नेपालले बताए । एमालेले ध्वंश मात्रै गरेको आरोप उनले लगाएका थिए ।