November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

एमालेमा रहेका पूर्वमाओवादी नेताहरु सामुहिक राजिनामा दिने निष्कर्षमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा रहेका पूर्वमाओवादी नेताहरुले उचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टि जाहेर गरेका छन् ।

स्रोतका अनुसार अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेको अवस्थामा पूर्वमाओवादी नेता पदबाट सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन् । यद्यपि, तत्काल एमाले नछाड्ने निष्कर्षमा पनि उनीहरू पुगेका छन् ।

स्रोतका अनुसार एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साहसँगै केही केन्द्रीय सदस्य राजीनामा दिने निष्कर्षमा पुगेका छन् ।

Advertisement

पार्टीमा ठोस जिम्मेवारी नदिएको र दिइएको जिम्मेवारीअनुसार काम गर्न पनि नपाएको, पदीय मर्यादाक्रमसमेत नमिलेको, आफूहरुभन्दा जुनियरलाई माथि राखेर आफूहरुलाई अपमान गरिएको असन्तुष्ट समुहको भनाइ छ ।

पूर्वमाओवादीबाट एमालेमा आएकाहरुलाई सोपिसका रूपमा मात्रै राखिएको हुँदा यसरी हेपिएर बस्नुभन्दा आफ्नो जिम्मेवारीबाट राजीनामा दिनु उचित हुने हाम्रो निष्कर्ष रहेको असन्तुष्ट पक्षका एक पदाधिकारीले बताए ।

पदबाट राजीनामा दिने निष्कर्षमा पुगिसकेका उनीहरूले पार्टी भने तत्काल नछोड्ने जनाएका छन् । तत्कालका लागि एमालेमै बस्ने तर अहिलेको जिम्मेवारीबाट राजीनामा दिनेमा सबैको एकमत रहेको छ ।