November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

समितिको बैठकमा सरकारको कामको समीक्षा हुने विश्वप्रकाश शर्माको भनाइ

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् । महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताएका हुन् ।

महामन्त्री शर्माले जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराउने बताए । कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने पनि बताए ।

कोभिड–१९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रुपमा सञ्चालन गर्नका लागि पनि सरकारलाई घच्घच्याउने शर्माको भनाई छ ।

Advertisement

कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउने र पार्टीका विभागहरु बनाउने दिशातर्फ अघि बढ्ने पनि उनले बताए ।

त्यस्तै, महामन्त्री शर्माले यो सरकारसँग सबै कुराको अपेक्षा नगर्न आग्रह गर्दै भने, ‘पब्लिकलाई पनि के आग्रह गर्छौ भने यो सरकारसँग सबै कुरा अपेक्षा नगर्नुस् है । एउटा विशिष्ट परिस्थितिमा बन्यो । संविधानविपरीत कदम चालिएको, लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गरिएको, संसदलाई विघटित गरिएको विशिष्ट परिस्थितिमा । हामीलाई जनताले म्यान्डेट बाहिर बस्न भनेर दिँदादिँदै पनि नचाहँदा, नचाहँदै पनि सरकारको नेतृत्व गरेर जानुपर्यो । त्यसकारण यो सरकारलाई संविधानअनुसार चल्ने, संविधान र संसदको रक्षा गरेर जाने सवालमा, महामारीबाट जनताको जीवन रक्षा गर्नका लागि सरकार कति गम्भिर भएर जान्छ भन्ने सवाल र निर्वाचन सम्पन्न गराउने राष्ट्रिय दायित्व पुरा गर्ने सन्दर्भमा सरकारलाई हेरिदिनुस्, समीक्षा गरिदिनुस् भन्छौँ पनि । जुन विषयमा जनताको प्रत्यक्ष चासो हुन्छ, सरकारको छविको कुरो गाँसिन्छ, यी विषयमा कार्य सम्पादन समितिको बैठकले पनि सरकारलाई सजग गराउने, सरकारलाई ध्यानाकर्षण गराउने, सरकारलाई सुझाव पनि दिने कार्य गर्छ ।’ शर्माले खोप कार्यक्रमलाई महाअभियानका रुपमा लिएर जाने कुराको सन्दर्भमा पनि सरकारलाई थप घच्घच्याउनुपर्ने बताए ।

काँग्रेसको यसअघि भर्चुअल रुपमा बसेको केन्द्रीय कार्य समिति बैठकले ३७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको थियो ।