काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीमा सुधार गर्नुपर्ने बुँदा भए उपलब्ध गराउन सत्तारूढ दुई दलका अध्यक्षहरूलाई आग्रह गरेका छन् । आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग एमसिसी सम्झौतामा सुधार गर्नुपर्ने केही भए उपलब्ध गराउन भनेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भएको छलफलमा प्रचण्ड र अध्यक्ष नेपालले यथास्थितिमै एमसिसी पारित गरेर जान नसकिने बताएपछि एमसिसीमा सुधार गर्नुपर्ने केही भए उपलब्ध गराउन प्रधानमन्त्री देउवाले आग्रह गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आज सिन्धुपाल्चोकका नेता÷कार्यकर्ता पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै एमसिसीका सन्दर्भमा आज बालुवाटारमा छलफल गरिएको बताए । नेपालले पाँचदलीय गठबन्धन नटुट्ने पनि बताए ।
आफूले आज बिहान प्रचण्डसँग पनि कुराकानी गरेको नेपालले बताए । साथै कोटेश्वरस्थित निवासमा गृहमन्त्री बालकृष्ण खाणसँग पनि आज कुराकानी भएको उनको भनाइ थियो ।
एमसिसी हुबहु पास गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्ने गरेको आरोपसमेत अध्यक्ष नेपालले लगाएका थिए । नेपालले भने, ‘एमसिसी हुबहु पास गर्नुस् हामी साथ दिन्छौं भनेर केपीले भन्दा रहेछन्, हामी गलत तरिका अपनाउँदैनौं । सबै देशसँग राम्रो सम्बन्ध राख्न चाहन्छौं । कसैलाई देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिदैनौं ।’