काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आजको बैठकले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने निष्कर्ष निकालेको बताएका छन् । स्थायी कमिटी बैठकपछि खनालले बैठकमा एकैस्वरले एमसीसी पारित हुँदैन भन्ने आवाज उठेको बताए ।
खनालले नेतृत्वमा बनेको कार्यदलले तयार पारेको रिपोर्ट आजको बैठकमा पेस भएको थियो । त्यसमा मोटामोटी छलफल भएको उनले बताए ।
यसबारे थप छलफल गर्न गठबन्धनको बैठक बस्न सकिने समेत उनले बताए । यदि सरकारले जबरजस्ती एमसीसी अगाडि बढाउन खोज्यो भने उनले तीन तर्क अगाडि सारे ।
एक त यो संसदमा पेस गर्नुपर्ने खालको सम्झौता होइन, अर्को पेस गर्ने हो भने पनि हाम्रो संविधानको प्रावधानले पेस गर्न दिँदैन यस्तै विपक्षीलाई विश्वासमा लिनुपर्यो। संसद खुलाउने वातावरण बनाउनु पर्यो। त्यसपछि मात्र टेबल हुन्छ’, उनले भने, ‘यदि प्रधानमन्त्रीले जबरजस्ती अगाडि बढाउन खोज्नुभयो भने पनि परिणामको जिम्मेवार उहाँ आफैं हुनुहुन्छ ।’