काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताएका छन् । शुक्रबार नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार सत्तामा आएपछि ेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताएका हुन् ।
प्रधानमन्त्री देउवाले नेपाल र नेपाली जनताको हित प्रवद्र्धनमा केन्द्रित भएर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उकास्ने, सबै देशबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न सक्रियताका साथ अनुकूल अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्ने लक्ष्य राखेको बताए ।
त्यस्तै, कोभिड–१९ ले निम्त्याएको सीमितताका बाबजुद सरकारले अन्तर्राष्ट्रिय संलग्नतालाई तीव्रता दिइरहेको उल्लेख गर्दै त्यस्ता फोरमहरूमा नेपालको सक्रिय र अर्थपूर्ण सहभागिताले हाम्रो अन्तर्राष्ट्रिय दृश्यता बढाउन मद्दत गरेको धारणा व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका मापदण्डहरूले अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो परराष्ट्र नीतिले मार्गदर्शन गरिरहने बताए । उनले भने, ‘सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षा सरकारको सर्वोच्च प्राथमिकता र दायित्व हुनेछ । वर्तमान सरकारले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गरेको छ । हामी हाम्रो भूमि हाम्रा छिमेकी र अन्य देशहरूविरुद्ध कुनै पनि गतिविधिको लागि प्रयोग गर्न अनुमति दिँदैनौँ ।’
संयुक्त राज्य अमेरिकी सहयोग (एमसीसी) अन्तर्गत अमेरिकी सरकारको ५० करोड डलर सहयोग हालै सङ्घीय संसद्बाट स्वीकृत भएको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले एमसिसीमाथिको छलफल र बहसलाई सूचित निर्णय गर्ने सामान्य लोकतान्त्रिक प्रक्रियाको रूपमा लिएको बताए । अब सम्बन्धित निकायले यसलाई कार्यान्वयनमा लैजाने र आयोजनाको समयमै सम्पन्न गर्ने सुनिश्चितता गर्ने उनले विश्वास व्यक्त गरे।