तनहुँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको तानाशाही प्रवृत्ति रोक्न आफूहरूले गठबन्धन गरेको बताएका छन् । नेपाली काँग्रेस तनहुँले शनिबार दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ओलीको आफू बाहेक अरुको कामलाई सहनै नसक्ने, काम गर्नै नदिने र चल्न पनि नदिने जस्तो ओलीको तानाशाही प्रवृत्ति रोक्नका लागि गठबन्धन गरिएको बताएका हुन् ।
देउवाले भने, ‘एमाले अध्यक्ष केपी ओली आफैं अविश्वासको प्रस्ताव पनि राख्छन् र सामना गर्नुपर्ने ठाउँमा संसद् विघटन गरी चल्नै दिँदैनन् । फिर्ता भएको संसद् पनि ओलीजीले चल्न नदिने जथाभावी संसद भंग गर्दिने ।’
यस्तै देउवाले पाँच दलीय गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने बताए । साथै काँग्रेसको अहिलेको एउटै उद्देश्य गठबन्धनलाई सफल पार्नु रहेको बताएका छन् । साथै प्रधानमन्त्री देउवाले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता रहेको पनि बताएका थिए । यसलाई स्थानीय निर्वाचनमा मात्रै नभई प्रदेश र संघको निर्वाचनसम्म लैजाने पनि उनको भनाइ थियो ।