काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टी नेतृत्वको सरकारको वचाउ गर्न सक्ने अवस्था नभएको बताएका छन् । शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै थापाले उक्त धारणा राखेका हुन् ।
महामन्त्री थापाले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारको तीव्र आलोचना गरेका आफूहरुलाई अहिले आफ्नै सरकारको वचाउ गर्न गाह्रो भएको बताउदै भने, ‘हिजो सरकार कसरी चलाउने हामीले भन्यौं ? आज हामीले प्रतिरक्षा गर्ने अवस्था छ ? हिजो ओली सरकारको तीव्र आलोचना गर्यौं। आज आफ्नो सरकारको बचाउ गर्न सक्ने अवस्थामा हामी छैनौं । हिजोको प्रश्नले आज हामीलाई लखेटिरहेको छ ।’
यस्तै, आफूहरुलाई पार्टीभित्र घेराबन्दी गर्न खोजे चुप लागेर नबस्ने पनि उनले बताए । ‘घेराबन्दी गर्ने खेल भइरख्यो भने हामी पनि निर्वाचित महामन्त्री हौं । चुप लागेर बस्दैनौं’ उनले भने ।
केन्द्रीय सदस्यहरुले महामन्त्री भएर गुटको भेलामा सहभागी भएको भन्दै उठाएको प्रश्नको पनि जवाफ दिए । उनले पार्टीमा अपमान नगरे गुटको भेला बस्नै नपर्ने पनि बताए । उनले प्रश्न गरे, ‘विगतमा कहाँ कसले भेला गरे, त्यो फोटो गुगल हेरेर देखिन्छ । ठूलो घर हुनेले ठूलो घरमा बैठक बोलाए, सानो घर हुनेले पार्टी प्यालेसमा बोलाए, के गल्ती भयो ?’