काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरी निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताएका छन् ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा आज झापाको बिर्तामोडमा निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजले आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका” विषयक कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्ति बाहेक अन्य कारणले मतदान स्थगित हुने अवस्था नहुने बताए ।
उनले सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता तत्त्व वा व्यक्तिलाई नियमसंगत कारबाही गरिने बताए । उनले सोही कारण पुनः मतदान हुन नदिने स्थिति सिर्जना गराउन आयोग जुटेको बताए ।
कुनै पनि मतदाताले आफूलाई लोभ लालच र धाक धम्कीका कारण मतदान गर्नबाट अप्ठ्यारो स्थिति सृजना गरियो भन्ने गुनासो आउने वातावरण सृजना नै नहुने गरी आयोग देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरहेको उनको भनाइ थियो ।