November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

अयोग्य लडाकुलाई पैसा दिइने बारे संसदमा जुहारी, ०७३/०७४ कै बजेटमा थियो २ लाख दिने व्यवस्था

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिने कुरा आर्थिक वर्ष २०७३÷०७४ को बजेट वक्तव्यमा व्यवस्था भएको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सापकोटाले तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३÷०७४ को बजेट वक्तव्यमा समावेश गरेको कुरालाई नै वर्तमान सरकारले कार्यविधि बनाएको बताएका हुन् ।

सांसद सापकोटाले भने, ‘अहिले जुन व्यवस्थापिका संसदको बैठक २०७३ साल जेठ १५ गते शनिबार माननीय अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गुर्नभएको आर्थिक वर्ष २०७३÷०७४ को बजेट वक्तव्यमा व्यवस्था गरिएको थियो ।’

हावाको भरमा, खोजअनुसन्धान नगरी दोषारोपण गरेको भन्दै सांसद साप्कोटाले उक्त वक्तव्यको १९ नम्बर बुँदा पढेर सुनाएको थिए । बुँदा नम्बर १९ मा ‘सहिद एवम् बेपत्ता पारिएका सदस्यहरुलाई पूर्वघोषित रु ५ लाखमध्येको बाँकी रकम उपलब्ध गराउन आवश्यक बजेटको व्यस्था गरेको छु । द्धन्दकालका अयोग्य लडाकुहरु र स्वैच्छिक अवकाशमा गएका लडाकुहरुमध्ये राहत दिन बाँकीलाई रु २ लाख रुपैयाँ उपलब्ध गराउन बजेटको व्यवस्था गरेको छु ।’, उल्लेख गरिएको उनले पढेर सुनाएका थिए ।

Advertisement

सिंगै सदन र देशलाई भ्रमित बनाउने बदनाम तुल्याउने यस्तो काम गरिएको सापकोटाको आरोप छ । ‘पुरानै बजेट वक्तव्य र अदालतको परिपत्रअनुसार अहिलेको सरकारले कार्यविधि विकास गर्न खोजेको हो । म स्पष्ट पार्न चाहन्छु, माननीय विष्णु पौडेलकै नेतृत्वमा ल्याइएको बजेट, नीति तथा कार्यक्रम, बजेट वक्तव्यको १९ नम्बरको बुँदा, अदालतले गरेको परिपत्र अनुसार कार्यविधि बनाउनका लागि मात्रै सरकारले अगाडि लगेको छ । सिंगै सदन र देशलाई भ्रमित बनाउने बदनाम तुल्याउने जे काम गरिएको छ, म यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।’, उनले भने ।

सापकोटाले दुई लाख रुपैयाँले मानिसको गुजारा नचल्ने भन्दै व्यवस्था परिवर्तनका लागि बन्दुक बोकेका लडाकुहरूको हुर्मत लिने काम नगर्न बताए । व्यवस्था परिवर्तनका लागि लडेका लडाकुहरुलाई अपमान गर्ने छुट कसैलाई नभएको उनले बताए ।

‘हामी सबैलाई यो बहस गर्नका लागि तिनै लडाकुहरुले लडेर, स्याउला बोकेर र बन्दुक बोकेर ल्याएको व्यवस्था हो । दुई लाख रुपैयाँले मान्छेको केही गुजारा चल्दैन । तर गिरिजाबाबुको टाउको फुटेको कान्तिपुर खोजेर हेर्नुहोस् । चित्रलेखा यादवले नारायणहिटीको अगाडिपट्टि सञ्चालन गरेको संसद्को दृश्य सबैले सम्झना गरौँ । तपाईंको दुई लाख पैसाले युद्ध लडेर आएका महान लडाकुहरू, योद्धाहरुलाई जसले वीरताको गाथा कोरे, जसले वीरताको संकल्प गरे, जसले यो सिंगै व्यवस्था परिवर्तनका लागि बलिदान गर्नका लागि तयार भए तपाईं तिनलाई अपमान गर्ने ? अस्ति भर्खर नारायणहिटी अगाडि गरेका संघर्ष, रत्नपार्क वरिपरिका संघर्ष, गिरिजाबाबुको टाउको फुटाएको कुरा सजिलै बिर्सने ? यही हो राजनीतिक धर्म, यही हो संस्कार, संस्कृति ? म गम्भीरतापूर्वक तपाईंहरुलाई भन्न चाहन्छु, दुई लाख ठूलो मूल्य होइन । मानिसहरूको हुर्मत लिने ? अपमान गर्ने ? यो व्यवस्था जसले ल्यायो त्यसैलाई अपमान गर्ने कसैलाई छुट छैन ।’, उनले भने ।

उनै बजेट प्रस्तुत गरेका पूर्व अर्थमन्त्री तथा सांसद विष्णु पौडेलले यसअघि कार्यकर्ताको भरणपोषण गर्न हतारो भएको आरोप लगाएका थिए । ‘यस्तो चिन्ताजनक अवस्थामा मुलुकको अर्थतन्त्र छ, तर सरकारलाई कुनै मत्लव छैन, चासो छैन, चिन्ता छैन । अयोग्य लडाकुको नाममा कार्यकर्ता भरणपोषणका निम्ति रकम बाँड्ने हतारो छ । यसको आवश्यकता के हो ?’, उनले प्रश्न गरेका थिए ।

पौडेलको प्रश्नको जवाफ दिँदै माओवादी सांसद सापकोटाले पौडेलले २०७३ साल जेठ १५ गते शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७३÷०७४ को बजेट वक्तव्यको १९ नम्बर बुँदा पढेर सुनाएका थिए ।