November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

होलीका लागि सुरक्षा व्यवस्था मजबुत, ड्रोनबाट निगरानी हुने

काठमाडौं । होली पर्वलाई मध्यनजर गरी जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा व्यवस्था मजबुत बनाएको छ । होलीको लागि प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको हो ।

आइतबार पहाड र सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदै छ । शनिवार जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भूपेन्द्रबहादुर खत्रीले होली पर्व आम नेपालीहरूको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रुपमा मनाउन आग्रह गरेका छन् ।

विगतका घटनाहरूलाई मध्यनजर गरेर सुरक्षा प्रबन्ध मजबुत बनाएको उनले बताए । जसका लागि काठमाडौंमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरूलाई संयुक्त रुपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको उनले जानकारी दिए ।

Advertisement

सम्भावित घटनाहरू हुन नदिनका लागि भिडभाड हुने ठाउँहरूमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरेको र होली मर्यादित रूपले मनाउन सामाजिक सञ्जालबाट पनि नेपाल प्रहरीले सचेत गराएको उनले बताए ।

होली खेल्न नचाहनेहरूका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै उनले सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गरेका छन् ।

कुनै त्यस्ता नराम्रा गतिविधि गरे प्रहरीको टोल फ्री नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखले प्रयोग गर्ने नम्बर ९८५१२०५५५५ मा सम्पर्क गर्न उनले आग्रह गरेका छन् ।