November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

बजेटसँग सम्बन्धित दुई विधेयक पारित, सरकारलाई बजेट खर्च गर्न बाटो खुल्यो

काठमाडौं । नेकपा एमालेको चर्को नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ ।

बिहीबार प्रतिनिधिसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको हो । अब सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउन बाटो खुलेको हो ।

सदाझैं बिहीबार पनि बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरूले संसदको वेल घेरेर नाराबाजी गरेका थिए । नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले भने संसदको कारबाही अघि बढाएका थिए ।

Advertisement

सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पेश गर्न अनुमति दिए र निर्णयार्थ पनि पेश गरे । उनले विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

विधेयक पारित भएपछि प्रतिनिधिसभाको बैठक असोज ११ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।