काठमाडौ । पछिल्लो राजनीतिक घटनाक्रम र संसद गतिरोध अन्त्य गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित छ । एमालेको उपस्थिती बिनै बैठक सुरू भएको छ ।
सर्वदलीय बैठकमा देउवासहित, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी छन् ।
स्रोतका अनुसार आज बसेको बैठकमा संसद सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुखका केही कार्यप्रति असन्तुष्टि जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन ।