काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रम भृकुटीमण्डपमा सुरु भएको छ । कार्यक्रमस्थलमा भर्खरै पार्टी सभापति शेरबहादुर देउवा आइपुगेका छन् । अब केही बेरमै देउवाले औपचारिक कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने अहिले अतिथि आसन ग्रहणको कार्यक्रम भइरहेको छ ।
यसैबीच वरिष्ठ नेता रामचन्द्र पौडेल पनि कार्यक्रमा उपस्थित भइसकेका छन् । केहीबेर अघि संस्थापन इतरको बैठकमा सहभागी भएका पौडेल केहीबेरअघि आइपुगेका हुन् ।
काँग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन पाहुना आउने क्रम सुरू भइसकेको छ । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमोर्चाका दुर्गा पौडेलसहितका नेताहरु पुगिसकेका छन् ।
त्यसैगरी महाधिवेशनको शुभकामना दिन भारतबाट पनि पाहुना आउने क्रम जारी रहेको छ । भाजपाका नेता हर्षवर्धन, काँग्रेसका गोकुल बाज्पेइ, हरी वर्तन, हरिष द्धिवेदी लगायतका नेताहरु आइसकेका छन् ।