काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले शुक्रवार नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै स्थानीय तहको निर्वाचनको सम्बन्धमा सत्तारुढ गठबन्धनले अघि सारेका विकल्पहरु संविधानसम्मत नभएको बताएका ।
महामन्त्री थापाले कानून संशोधन गरि निर्वाचन गर्नु संविधानसम्मत नहुने बताए । यस्तो संविधानसम्मत नभएको कुरालाई काँग्रेसले बोक्नु नहुने बताएका हुन् । यसबारे आफूहरुले पार्टी सभापति शेरबहादुर देउवासँग कुरा राखिसकेको उल्लेख गरे ।
त्यस्तै, महामन्त्री थापाले सभापति देउवाले सो कुरा गठबन्धनको बैठकमा राख्ने प्रतिवद्धता गरेको पनि जानकारी दिए । शनिवार बस्ने गठबन्धनको बैठक स्थानीय तहको निर्वाचन तय गर्नेतर्फ जानेमा आफूले अपेक्षा गरेको उनको भनाइ छ ।
गठबन्धनले संविधानसँग बाझिने गरी कुनैपनि काम नगर्नेमा महामन्त्री थापाले विश्वास व्यक्त गरे ।