November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

युएइ पुगेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने

२०७८ कार्तिक १३

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले वैदेशिक रोजागरीको शिलशिलामा युएइ पुगेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने बताएका छन् । छैटौँ श्रममन्त्री स्तरीय अबुधाबी डायलगमा सहभागी हुन युएइ पुगेका मन्त्री श्रेष्ठले तनहुँ सेवा समाज युएइले गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।

‘तपाईंहरु पाखुरामा बल भइञ्जेल विदेशमा काम गर्नुहुन्छ । बल सकिएपछि नेपाल फर्कदा केही पनि हुँदैन । नेपालमा अहिले सामाजिक सुरक्षा कोष लागू भएको छ । यहाँ जुन कम्पनीमा काम गर्नुहुन्छ त्यहीबाट सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नेगरी अगाडी बढाउनेछु ।’, मन्त्री श्रेष्ठले भने ।

त्यसैगरी मन्त्री श्रेष्ठल युएइमा कार्यरत नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक लागु गरिदिन आग्रह गरेको बताए । विदेशमा सुरक्षित तवरले काम गर्ने वातावरण सिर्जना गर्न आफू प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठले बताए ।

Advertisement

आफूले वैदेशिक रोजगारीमा रहेका नेपालीको गुनासोलाई तत्काल सुनवाइ गर्नेगरी काम गर्ने मन्त्री श्रेष्ठले बताए । ‘वैदेशिक रोजगार विभाग र बोर्डमा गुनासो सेन्टर रहेछ । अब म नेपाल फर्कने बित्तिकै मन्त्रालयमा २४ सैँ घन्टा गुनासो सुनेर भोलिपल्ट विहान १० बजे मेरो टेबलमा ल्याउनु भनेर निर्देशन दिएर काम गर्नेछु’, उनले भने ।

त्यस्तै, दुबइमा कन्सुलरको कार्यालय खोल्न पहल थाल्ने मन्त्री श्रेष्ठको भनाइ छ । गृहजिल्लाबाट रोजगारीको शिलशिलामा युएइ पुगेकालाई उनले तनहुँको प्रतिष्ठा उचो पार्नेगरी काम गर्ने दाबी गरे ।