November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

गायिका एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । उनले वारेस विष्णुप्रसाद खरेलमार्फत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।

जिल्ला अदालतमा पेस गरेको निवेदनमा गायिका एलिनाले आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रममा सहभागी हुँदा कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्ने हुँदा पतिले विभिन्न शंका–उपशंका गरेको खुलाएकी छन् ।

एलिनाले गत वैशाखमा बागलुङ घर भई हाल अस्ट्रेलिया बस्दै आइरहेका विष्णु सापकोटासँग विवाह गरेकी थिइन् । विवाहपछि आफू अस्ट्रेलियामै पतिसँग गएर बसेको जिकिर गर्दै उनले यस क्रममा सुरुका केही दिन राम्रै भए पनि पछि सम्बन्धमा खटपट आएपछि आफू नेपाल आएर बस्न थालेको जनाएकी छन् ।

Advertisement

पतिसँग भावनात्मक सम्बन्ध राम्रो हुन नसकेकाले कागजी सम्बन्धमा मात्र पति–पत्नी भएर बस्न उचित नरहेको भन्दै एलिनाले सम्बन्धविच्छेदका लागि निवेदन दिएकी हुन् ।

विवाह गरेको वर्षदिन नपुग्दै एलिनाको दाम्पत्य जीवन राम्रो नभएको चर्चा हुँदै आएको थियो । उक्त चर्चा सत्य सावित भएको छ ।